नव सृजनशील साकोसद्वारा “समुदायमा सहकारीको आवश्यकता र महत्व” विषयक निबन्ध लेखन प्रतियोगिता
बुधबार, असार ६, साकोसआवाज प्रतिनिधि
काठमाण्डौं । काठमाण्डौं महानगरपालिका–७, चावहिलमा रहेको नव सृजनशील बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १६औं स्थापना दिवसको अवसरमा “समुदायमा सहकारीको आवश्यकता र महत्व” विषयक अन्तर विद्यालय माध्यामिक तह स्तरीय निबन्ध लेखन प्रतियोगिता सम्पन्न गरेको छ । प्रतियोगितामा विभिन्न ९ वटा विद्यालयबाट १४ जना प्रतियोगिहरुको सहभागिता रहेको थियो । प्रतियोगिताको प्रतिष्पर्धी निर्णायक छनौट निबन्धकार तथा प्राध्यापक दुुर्गा प्रसाद नेपालले गर्नुभएको थियो ।
प्रतियोगितामा पशुपती मित्र मा.वि.चावहिलकी छात्रा प्राची ठाकुरले पहिलो स्थान हासिल गर्नुभएको थियो । त्यसैगरि कान्ति भैरव मा.वि., थलीका दिक्षा सुनारले द्वितिय र मिनिल्याण्ड मा.वि., थलीका मन्दिरा गिरीले तृतीय स्थान हालिस गर्नुभएको थियो । त्यसैगरि रिलायन्स् पब्लिक, कपनका समृद्धी अर्याल र गान्दी आदर्श मा.वि. गोठाटारका टिका खपांगीले सान्त्वना पुरस्कार प्राप्त गर्नुभएको आयोजक साकोसका सचिव एव. शिक्षा तथा तालिम उपसमिति संयोजक विजया लामिछानेले जानकारी गराउनुभयो ।
चावहिलस्थित पशुपति मित्र मा.वि.मा असार २ गते भएको प्रतियोगिताबाट उत्कृष्ठ विद्यार्थीहरुलाई साकोसको स्थापना दिवसको अवसर पारेर असार ४ गते निर्णायक दुर्गा प्रसाद नेपाल र साकोसका अध्यक्ष विश्वनाथ अर्यालको हस्ताक्षर सहितको उत्कृष्टताको प्रमाणपत्र प्रदान गरिएको थियो ।
२०६५ असार ४ गते स्थापना भएको नव सृजनशील साकोसले आफ्नो १६औं स्थापना दिवसको अवसर पारेर बचत तथा ऋण सहकारी अभियानलाई युवामाझ परिचित बनाउने उद्देश्यसहित निवन्ध लेखन प्रतियोगिताको आयोजना गरेर उदाहरणीय काम गरेको छ । “समुदायमा सहकारीको आवश्यकता र महत्व” विषयक निवन्ध लेखन प्रतियोगिताले युवा सदस्यहरुमाझ सहकारीको महत्वबारे ज्ञान हासिल गर्न उपयोगी सावित भएको छ ।
नव सृजनशील बचत तथा ऋण सहकारी संस्थामा कुल शेयर सदस्य १ हजार २ सय ९० जना रहेका छन् । साकोसको शेयर पुँजी रु. १ करोड ९४ लाख ६३ हजार ७ सय, जगेडा कोषमा रु. १ करोड ६४ लाख १५ हजार ५१० रहेको छ भने साकोसको कुल सम्पत्ती रु. २१ करोड ५५ लाख ८६ हजार १४५ छ । साकोसको १७.६३ प्रतिशत तरलता कायम छ ।